आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

-- / प्रकाशित मिति : सोमवार, बैशाख २०, २०७८

काठमाडौं – आज (सोमबार) विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ यस वर्षको स्वतन्त्रता दिवस मनाउन लागिएको हो ।

स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ । सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो ।

यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । नेपाल पत्रकार महासंघले युनेस्कोसँगको सहकार्यमा सोमबार भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कोरोना संक्रमणका कारण सामूहिक रूपमा भौतिक सहभागिता जनाएर कार्यक्रम गर्न सम्भव नदेखिएकोले कार्यक्रमको स्वरूप परिवर्तन गरेर भर्चुअल रूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको महासंघले जनाएको छ ।