त्रिदेशीय कप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीच लिगको अन्तिम खेल आज हुँदै

-- / प्रकाशित मिति : शनिबार, चैत्र १४, २०७७

काठमाडौं – त्रिदेशीय कप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीच लिगको अन्तिम खेल आज हुँदैछ । नेपाल बंगलादेश र किर्गिस्तान यू-२३ टिम सम्मिलित प्रतियोगितामा बंगलादेश यसअघि नै फाइनल पुगिसकेको छ।

नेपालले फाइनल पुग्न बंगलादेशसंग बराबरी खेले पर्याप्त हुनेछ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो। नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेपछि बंगलादेश एक खेलअघि फाइनल पुगेको हो।

नेपाल र बंगलादेशबीचको खेलपछि नै फाइनल समीकरण तय हुनेछ । यस्तोमा घरेलु टोलीले सोमबार हुने फाइनलमा स्थान बनाउन कम्तीमा हार टार्नु पर्नेछ ।किर्गिस्तानको ओलम्पिक टिम भएकोले यसअघि भएको दुवै खेलले अन्तर्राष्ट्रिय मान्यता पाएको थिएन ।

त्यसैले नेपाल र बंगलादेशबीच हुने खेलले अन्तर्राष्ट्रिय मान्यतासमेत पाउनेछ।सन् २०१५ मा विश्वकप छनोट अन्तर्गत भारतसँग खेलेयता बंगलादेशविरुद्धको खेल नै दशरथ रंगशालमा सिनियर टोलीको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हुनेछ ।