“सात स्थानमा ‘रियल टाइम’मा विवरण हर्ने स्वचालित मौसम मापन केन्द्र स्थापना”

-- / प्रकाशित मिति : बुधबार, अशोज ७, २०७७

दिपायल – सुदूरपश्चिम प्रदेशका सात स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना भएको छ । कृषि विकास निर्देशनालय दिपायलको २९ लाखको लागतमा मौसमी सूचना संकलन गरी ‘रियल टाइम’मा विवरण हेर्न सकिने गरी स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएको छ ।

टिकापुर पोलिटेक्निक इन्स्टिच्युट कैलाली, कृषि ज्ञान केन्द्र कञ्चनपुर, कृषि ज्ञान केन्द्र बझाङ, सुक्खा फलफूल विकास केन्द्र सतबाझ बैतडी, कृषि क्याम्पस गोकुले, तरकारी बीउ उत्पादन केन्द्र डडेल्धुरा र कृषि विकास निर्देशनालय दिपायलमा केन्द्र स्थापना गरिएको छ ।

कृषि विकास निर्देशनालय दिपायलका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार स्वचालित मौसम मापन केन्द्रबाट वर्षा हुनेरनहुने, वायुको तापक्रम, अधिकतम तापक्रम, न्यूनतम तापक्रम, हावाहुरी, बादल लाग्ने÷नलाग्ने, सापेक्षिक आद्रता, हावाको गति र हावाको दिशाबारे जानकारी लिन सकिने बताएका छन् ।

जलवायु घटनाक्रमको आंकलन गरी केन्द्रमा जडान गरिएका उपकरणले उपलब्ध गराएको विवरण निर्देशनालयको वेवसाइटमा अपलोड भई हेर्न सकिने र सरोकारवालालाई मौसमी जानकारी दिन सकिने तथा किसानले लगाएको बालीमा हुन सक्ने हानी–नोक्सानी कम गर्न, बाली सुरक्षा गर्न र बाली लगाउनका लागि प्रतिकूल मौसमबारे जानकारी दिनका लागि केन्द्रले सघाउ पुर्याउने सूचना अधिकारी विष्टले जानकारी दिनुभएको छ ।