शंकर पोखरेलसँग बहुमत नभएको भन्दै ४० प्रदेश सांसदले प्रदेश प्रमुखसमक्ष दिए निवेदन

-- / प्रकाशित मिति : आइतवार, बैशाख १९, २०७८

शंकर पोखरेलले एकल बहुमतको आधारमा सरकार गठन गर्ने तयारी गरिरहेको भन्दै प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ रोक्न लिखित निवेदन दिएका छन्।

नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा नेपाललगायतका सांसदले आइतबार दिउँसो प्रदेश प्रमुखलाई भेटेर आफ्नो पक्षमा ४० सांसद रहेको दाबी गर्दै अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठन रोक्न माग गरेका छन्।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वली (खत्री) ले नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोजेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ ।

माओवादी केन्द्रकी सांसद तथा प्रदेश मामिला तथा कानुन समितिकी सभापति दाना शर्माले वलीले माओवादी केन्द्र रोजेको दाबी गरिन्।

उहाँले दल रोज्न सक्नुहुन्थ्यो। त्यहीअनुसार माओवादी केन्द्र रोज्नुभएको छ । यो कुराले हामीलाई खुसी लागेको छ, तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि निर्वाचन आयोगले उपनिर्वाचनबाट चुनाव जितेका जनप्रतिनिधिले दल रोज्न पाउने व्यवस्था गरिदिएको थियो।