विहीवारदेखि राजधानीमा दुई साता निषेधाज्ञा

-- / प्रकाशित मिति : बुधबार, बैशाख १५, २०७८

काठमाडौं – काठमाडौं उपत्यकामा विहीवार विहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका संक्रमित तीव्र रुपमा बढ्दै गएपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको वैठकले विहीवारदेखि एक साता निषेधज्ञा गर्ने निर्णय गरेको थियो । त्यसपछि बसेको मन्त्रिपरिषद बैठकले बढाएर दुई साता निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

पहाडी र हिमाली जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी भयो भने र शहरी तथा काठमाडौंमा ५०० भन्दा बढी सक्रिय पुगे भने प्रमुख जिल्ला अधिकारीले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को सल्लाहमा निषेधाज्ञा जारी गर्न सक्ने प्रावधान छ ।

संक्रमणको ‘चेन ब्रेक’ गर्न कम्तीमा १० देखि १४ दिन चाहिने भएकोले सरकारले दुई साताको निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताउनुभयो । काठमाडौं उपत्यकामा १६ वैशाखबाट शुरू हुने निषेधाज्ञा कम्तीमा दुई साता रहने उहाँले जानकारी दिनुभयो ।