वायुसेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त

-- / प्रकाशित मिति : बुधबार, चैत्र २५, २०७७

काठमाडौं-सरकारले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगर–१० मोरङकाका किशोरकुमार प्रधानलाई निगमको बोर्ड सदस्यमा नियुक्त गर्नुभएको हो ।

मन्त्री ढकालले निगमको बोर्ड सञ्चालकमा चार वर्षका लागि प्रधानलाई नियुक्त गर्नुभएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिनुभयो । नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा (१) बमोजिम प्रधानलाई नियुक्त गरिएको छ ।

निगम ऐन २०१९ अनुरुप निगमको सात सदस्यीय बोर्डमा निगमको अध्यक्ष र प्रबन्ध निर्देशक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयका एक–एक जना प्रतिनिधि र निजी क्षेत्रबाट तीन जना सदस्य रहने प्रावधान छ ।