बाँकेमा कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा सात दिन लकडाउन गर्ने निर्णय

-- / प्रकाशित मिति : बुधबार, बैशाख ८, २०७८

बाँके- जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबारको बैठकले बाँकेमा तीव्र गतिमा चारैतिर फैलिरहेको कोरोनाको चेन तोड्नका लागि एक साता लकडाउन गर्नुपर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले एक दिनमा ३०० भन्दा बढी सङ्क्रमित भेटिन थालेपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न क्षेत्रहरु अतिनै धेरै जोखिममा परिसकेकोले अब लकडाउनको विकल्प नरहेको हुँदा बाध्य भएर लकडाउनको निर्णय गरिएको बताउनुभयो।

बैशाख ९ गते विहीबारदेखि एक सातासम्मका लागि अति आवश्यक सेवा बाहेक सबै क्षेत्र बन्द रहनेगरी लकडाउन गरिने निर्णय गरेर डि सी सी एम सीले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको हो।

पछिल्लो समयमा केही दिन यता आएर बाँके जिल्ला कोरोनाको हटस्पट बनेको छ । पहिलो पटक बाँकेमा एकैदिन ३ सय २२ जना कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गतवर्षदेखि हालसम्मकै दर हेर्दा बाँकेमा भेटिएका कोरोना सङ्क्रमितको आँकडा अहिले सबैभन्दा उच्च हो।