सुदूरपश्चिममा कोरोना संक्रमणबाट एक हप्तामा ४३ जनाको मृत्यु

-- / प्रकाशित मिति : आइतवार, बैशाख १९, २०७८

डोटी– सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने आठ दिनको अवधिमा ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार शनिबार अपराह्नसम्म ४३ जनाको मृत्यु भएको हो ।

हालसमम एक हजार २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको तथा १८६ जना निको भएर घर फर्किएका निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कैलालीमा १८, कञ्चनपुरमा १८, डडेल्धुरा २, अछामका २, बैतडी १, बझाङ १, दार्चुलाका १ जना सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु भएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

यसैगरी, भारतबाट रोजगरी गरी घरफर्किएका डोटीका दुईको मृत्यु भएको थियो । उनीहरूको कोरोना परीक्षण नगरिएका कारण कोरोना सङ्क्रमणबाट मृत्यु भएको सूचीमा नराखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । कोरोना कहर शुरु भएदेखि हालसम्म प्रदेशभर कोरोना सङ्क्रमणबाट ८४ जनाको मृत्यु भइसकेको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरका नागरिक रहेका छन् । कोरोना सङ्क्रमित् हुने दर बढेसँगै मृत्यु हुने दर पनि बढ्दै गएको स्वास्थ्य निर्देशक डा गुणराज अवस्थिले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा गत वैशाख ११ गते शनिबार ११०, यस्तै १२ गते आइतबार ५७, सोमबार ६७, मङ्गलबार २८३, बुधबार २८९, यस्तै बिहीबार २४६ र शुक्रबार १९१ जना सङ्क्रमित फेला परेको निर्देशनालयले जानकारी दिएको छ ।