आजदेखि ‘भेरोसेल’ खोप लगाइँदै

-- / प्रकाशित मिति : बुधबार, चैत्र २५, २०७७

काठमाडौं – सरकारले चीनबाट प्राप्त गरेको कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप आजबाट लगाइँदैछ । चीनले अनुदान सहयोगमा दिएको आठ लाख डोज खोप आजदेखि लगाइने भएको हो ।

सरकारले यो खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ वटा खोप केन्द्रबाट लगाउने भएको छ। पहिलो चरणमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ ।