चीनबाट आएको खोप सरकारको बुधबारदेखि लगाउने तयारी

-- / प्रकाशित मिति : मङ्लबार, चैत्र २४, २०७७

काठमाडौं– चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप (भेरोसेल) सरकारले भोली बुधबारदेखि लगाउने तयारी गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरु प्राथमिकीकरण गरिएको छ् ।

उनका अनुसार पहिलो प्राथमिकतामा हिमालय पार व्यापारमा संलग्न व्यक्तिहरु, नेपालमै रहेका चीनमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरु, चीनमा अध्ययनका लागि जान लागेका व्यक्तिहरु र चीनमा आवतजावत गर्ने व्यक्तिहरु परेका छन् ।

यस्तै सरकारले अत्यावश्यक सेवा भनेर तोकेको स्थानमा काम गर्ने व्यक्तिहरुलाई पनि निवेदनको आधारमा खोप लगाउने सूचीमा राखिएको डा गौतमले बताए ।
डा गौतमका अनुसार चीनबाट ८ लाख डोजमात्र खोप सहयोग आएकाले पहिलो डोज ४ लाख व्यक्तिलाई लगाउने र पहिलो डोज पाएका व्यक्तिहरुलाई नै निश्चित समयपछि दोस्रो डोज दिने योजना बनाइएको छ । सो खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाउने सरकारको तयारी छ ।